Monday, May 4, 2009

इतिहास तथा विकासक्रम

कान्तिपुर दैनिकको प्रथम पटक प्रकाशन २०४९ साल फागुन ७ गते भएको हो । कान्तिपुर दैनिकको शनिवासरिय परिशिष्टाङ्क 'कोशेली' को प्रकाशन २०५० साल वैशाख १२ बाट भएको हो । कान्तिपुर दैनिक प्रकाशन सुरु भएको आठ वर्षपछि 'शुक्रबारे बालकोसेली' का रुपमा 'कोपिला' आउन थाल्यो । 'कोपिला'को नमुना अंक २०५७ फागुन ५ मा आयो । 'कोपिला' को पहिलो नियमित अंक २०५७ फागुन १९ मा आएको हो । 'कोपिला' को संयोजन सुरुमा शाश्वत पराजुलीले गरे । २०६१ वैशाखदेखि राजेश कोइरालाले गर्दै आएका छन् ।
कान्तिपुर रंगीन निस्कन थालेको २०५४ पुस १७ गतेदेखि हो । कान्तिपुर १२ पेज भएको २०५६ वैशाख १ (यसअघि ८ पेज निस्कन्थ्यो) देखि हो । कान्तिपुर दैनिकको विराटनगर संस्करण २०५८ जेठ १९ बाट सुरु भएको हो । कान्तिपुर दैनिकको सुरुवातदेखि योगेश उपाध्याय सम्पादक हुनुहुन्थ्यो । २०५७ साउन ७ देखि उक्त जिम्मेवारी युवराज घिमिरेले लिनुभयो । अहिले नारायण वाग्ले सम्पादक हुनुहुन्छ ।
कान्तिपुर पब्लिकेशन्स अन्तर्गत पाँच प्रकाशन छन् । पब्लिकेशन्सका विराटनगर, पोखरा, नेपालगन्ज र चितवनमा क्षेत्रीय कार्यालय छन् । काठमाडौं, विराटनगर र चितवनबाट एकसाथ छापिन्छ -क्षेत्रीय संस्करणहरु ।
'द काठमान्डू पोष्ट' का सुरुका सम्पादक योगेश उपाध्याय नै हुनुहुन्थ्यो । त्यसपछि श्याम के.सी. र युवराज घिमिरे हुनुभयो । सन् २००३ नोभेम्बरदेखि 'द काठमान्डू पोष्ट' का सम्पादक प्रतीक प्रधान हुनुहुन्छ । कान्तिपुर दैनिकको सम्पादकमा वाग्ले र 'द काठमान्डू पोष्ट' का सम्पादकमा प्रधान एकैदिन नियुक्त हुनुभएको हो । 'कान्तिपुर दैनिक' र 'द काठमान्डू पोष्ट' लाई २०६२ वैशाख २१ देखि अन्तर्राष्ट्रिय आकारको बनाइयो । यो आकार साविकभन्दा सानो हो ।
साप्ताहिकको प्रकाशन २०५२ जेठ ५ मा सुरु भएको हो । सर्वोत्तम प्रकाशन २०५४ (हाल सर्वोत्तम नारी) मा थालिएको हो । साप्ताहिक २४ पेज भएको २०५५ फागुन ७ (त्यसअघि १६ पेज निस्कन्थ्यो) बाट हो । २०५७ मंसिर २ देखि साप्ताहिक र सर्वोत्तमको सम्पादकमा सुवास ढकालको नाम छापिन थालेको हो । 'सर्वोत्तम नारी' मासिकको पहिलो अंक २०५९ साल कात्तिकमा आएको हो ।
नेपाल पाक्षिकको प्रकाशन २०५७ साउन १५ (हाल साप्ताहिक) मा थालिएको हो । 'नेपाल साप्ताहिक' २०६० चैत २२ मा भएको हो । यसका सम्पादकहरु विजयकुमार पाण्डे, तीर्थ कोइराला, सुधीर शर्मा, किशोर नेपाल र फेरि सुधीर शर्मा (हालका) रहे ।
कान्तिपुर एफएमको प्रसारण २०५५ असोज २८ (हाल २४ घन्टा नै प्रशारण) सुरु भएको हो । त्यसअघि २०५२ मा रेडियो नेपालसाग ७ देखि १० बजेसम्म समय किनेर प्रशारण हुन्थ्यो । धनकुटाको भेडेटारबाट एफएम प्रसारण २०५८ वैशाखमा भएको हो ।
यस पब्लिकेशन्सका 'कान्तिपुर दैनिक', 'द काठमान्डू पोष्ट', 'साप्ताहिक', 'नेपाल साप्ताहिक' र 'सर्वोत्तम नारी' पाँच प्रकाशन हुन् । कान्तिपुर पब्लिकेशन्सभित्र 'कान्तिपुर अनलाइन' छ । उक्त अनलाइनलाई अहिले 'इ-कान्तिपुर' भनिन्छ । कान्तिपुर अनलाइन २०५७ वैशाख १ मा सुरु भएको हो । कान्तिपुर पब्लिकेशन्सका सबै प्रकाशन इन्टरनेटमा उपलब्ध
छन् ।

No comments:

Post a Comment